२३ बैशाख २०८१, आइतबार

एमालेको अवरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित


एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो ।

एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विषयलाई राजीनामा माग गरेपछि सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोधलाई अन्य विपक्षी दलहरु रास्वपा र राप्रापाका सांसदहरु पनि साथ दिएका छन् । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने चेतावनी समेत दिएको छ ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो । उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । उनले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने भएकोले तत्काल राजीनामा गर्न आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !