२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट


गणेशप्रसाद तिमिल्सिना र पार्क तइयोङ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकासलगायत विषयमा कुराकानी भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा विश्वस्त रहेको बताए । उनले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिकसम्बन्ध स्थापना भएको पचासौंँ वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने गरी मनाउनुपर्नेमा जोेड दिए ।

अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना पनि नेपालमै राखेर उत्पादन गर्न आग्रह गरे । उनले अहिले कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमै काराखाना राख्दा श्रमसमेत सस्तो हुने भएकाले कोरियाली कम्पनीलाई पनि व्यापारमा थप लाभ हुनसक्ने जिकिर गरे ।

अध्यक्ष तिमिल्सिनाले आफूले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस विषयमा कुरा राखेको अवगत गराउँदै भविष्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रने अपेक्षा गरे । कोरियाली पर्यटकको नेपालप्रति आकर्षण रहेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या दोब्बर वृद्धि गर्ने उद्देश्यसहित काम अघि बढाउन सुझाव दिँदै उनले नेपाल एयरलायन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गरे ।

दुबै एयरलायन्सले उडान सञ्चालन गर्दा भाडादर सस्तो हुने र नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि हुने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक दुबै लाभान्वित हुन सक्नेमा अध्यक्ष तिमिल्सिनाले ध्यानाकर्षण गराए ।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेकाले कोरियामा सिकेको सीप र आर्जन गरेको पुँजीलाई नेपालमा फर्केर उद्योग तथा व्यवसायमा लगाउने वातावरण बनाउन आग्रह गरे । नेपालीहरूको स्वदेश फर्केपछि अहिले घर र गाडीमा लगानी गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उनले त्यसको साटो रोजगारी सिर्जना गर्दा देश र जनताका साथै सम्बन्धित व्यक्तिलाई पनि फाइदा हुनसक्नेमा जोड दिए ।

नेपाली श्रमिक शिष्ट, मेहनती र अनशासित रहेको बताउँदै राजदूत तइयोङले नेपालबाट जाने श्रमिकको सङ्ख्या आगामी दिनमा बढ्दै जाने विश्वास ब्यक्त गरे । उनले नेपाल र कोरियाको कूटनीतिकसम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए ।

कोरियाको संसद्मा कोरिया–नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको सङ्घीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे । नेपाल विश्वकै दोस्रो ठूलो जलस्रोतको देश भएको बताउँदै उनले जलविद्युत्लगायत क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको पनि जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !