१९ बैशाख २०८१, बुधबार

सरकार र अदालत भारतको गुलाम भए, भारतीय फिल्म चल्न दिन्नँ : मेयर बालेन


बालेन शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघ सरकार र अदालत भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा आज दिउँसो लेख्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उच्च अदालत पाटनले काठमाडौं महानगरका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न काठमाडौँ महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि मेयर शाहको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

मेयर शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न अदालतले दिएको आदेश नमान्ने अडान लिएका हुन् । उनले देशको सार्वभौमिकता र स्वाधीनताको विपरित आफू कुनै कानुन र अदालतको आदेशलाई नमान्ने बताएका हुन् ।

काठमाडौं महानगरका मेयर शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’ को ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।

उनले उक्त फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि पनि सरकार चुप लागेर बसेकोले नियत थाहा भएको बताए । उनले लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

यो पनि पढ्नुहोस्

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बालेनलाई अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !