२१ बैशाख २०८१, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम सुनुवाइ असार १ गते हुने


हरिकृष्ण कार्की

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ समितिमा अन्तिम सुनुवाइ असार १ गते हुने भएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने वा नगर्ने भन्ने निर्णय असार १ गते हुने भएको हो ।

आज सोमबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सभाहलमा बसेको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि असार १ गते निर्णय गर्ने तयारी गरिएको हो ।

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।

कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठ, अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।

समितिले यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्नेछ । जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ । आउँदो असार १ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !