४ जेष्ठ २०८१, शुक्रबार

इलाममा एमाले नेतामाथि भएको ढुंगामुडा र आगजनीबारे जानकारी गराउन सरकारलाई रुलिङ


प्रतिनिधिसभाको बैठक

काठमाडौं । कोशी प्रदेश अन्तर्गत इलाममा नेकपा(एमाले) का नेताहरुमाथि आज गरिएको आगजनीको प्रयास र ढुंगामुडाको घटनाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई रुलिङ भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा आगामी बजेट माथिको सामान्य छलफल चलिरहेकै बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का प्रमुख सचेतक पदम गिरीले सभामुखको आशनमा बसेकी उपसभामुख इन्दिरा रानाको ध्यानाकर्षण गराउँदै ईलाममा आज एमालेका नेताहरुमाथि सत्तारुढ दल निकट कार्यकर्ताहरुबाट नै ढंंगामुडा र आगजनीको प्रयास गरी आतंंक सिर्जना गर्ने काम भएको भन्दै घटनाका निन्दा र भत्र्सना गरेका थिए ।

प्रमुख सचेतक गिरीले कोशी प्रदेशका आफ्नो पार्टीका संसदीय दलका उपनेता राम राना एउटा कार्यक्रममा सहभागी हुन जाँदा आज इलाममा सत्तारुढ दल निकटकै कार्यकर्ताहरु समेतको संलग्नतामा उनी माथि मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको भन्दै सभामुख मार्फत सदन तथा सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

कोशी प्रदेशको उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाको उपप्रमुख महेश्वरी राई चढेको गाडी माथि पनि ढुंगामुडा गरी आतंक सिर्जना गर्ने काम भएकोमा हाल उनीहरु मुश्किलले सुरक्षित स्थानमा पुग्न सफल भएको बताउँदै प्रमुख सचेतक गिरीले यसैगरी आफ्ना नेता तथा कार्यकर्ताहरु माथि श्रृंखलाबद्ध तरिकाबाट हमला हुँदै जाने हो भने आफूहरु पनि त्यस्को प्रतिवाद गर्न तयार रहेको बताएका थिए ।

विगतमा झापाको एउटा कार्यक्रममा सहभागि हुन जाँदा पूर्व प्रधानमन्त्री तथा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई समेत ढुंगामुडा गरी शान्ति भंग गर्ने काम भएको भनी सभालाई स्मरण गराउँदै प्रमुख सचेतक गिरीले आज इलाममा भएको घटनामा संलग्नहरुको जानकारी सहित सरकारको तर्फबाट सदनलाई स्पष्ट जवाफ नआए भोलिको सदन अगाडि बढ्न नसक्ने चेतावनी दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को तर्फबाट यस्तो धारणासहितको ध्यानाकर्षण पछि सभामुखको आशनमा बसेकी उपसभामुख रानाले सो घटनाको बिषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !