२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री भारत जाने दिनै राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले आज बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो ।

हालसम्म उक्त विधेयक ऐन बन्नका लागि प्रमाणीकरण नभएकाले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको यही जेठ १२ गतेको निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्को कार्यालयको पत्रबाट लेखी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको थियो ।

प्रतिनिधिसभाका तत्कालीन सभामुखबाट साउन १५ गते प्रमाणित गरी तत्कालीन राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश भएको थियो । केही विषयमा ध्यानाकर्षणसहित पुनर्विचारका लागि सङ्घीय संसद्मा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयमा संघीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जाने दिनै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड आज दिउँसो भारतको चारदिने औपचारिक भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानुअघि आज बिहानै मात्र राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई आजदेखि आफूले गर्ने लागेको भारत भ्रमणबारे जानकारी गराएका थिए । आज बिहान प्रधानमन्त्री र राष्ट्रपति बीचमा भएको भेटवार्तामा नागरिकता विधेयक प्रमाणीकरण गर्ने बारेमा पनि छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।

अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई सरकारले राष्ट्रपति पौडेललाई प्रमाणीकरण गराउन अनुरोध गर्दै आएको थियो । लामो समयदेखि विवादास्पद बनेको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

सरकारले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको थियो । गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न सरकारले अनुरोध गर्ने निर्णय गरेको थियो ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीको सुझाव

राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण, विधेयक स्वतः निष्क्रिय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !