२१ बैशाख २०८१, शुक्रबार

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित


प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । संघीय संसदको संयुक्त बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० पारित गरेको छ ।

बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुव बहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बठैक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो ।

त्यस अघि बैठकमा संघीय संसदको संयुक्त बठैक र संयुक्त समिति(कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदन माथिको संशोधन सहितको दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको समिति सभापति प्रधानले जवाफ समेत दिए पछि नियमावलीलाई पारित गरिएको हो ।

नियमावली मस्यौदा माथि सांसदहरु खिमलाल देवकोटा, डा.अमरेशकुमार सिंह, जितेन्द्रनारायण देव, प्रभु साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा. बिमला राई पौड्याल, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, उदयबहादुर बोहोरा, मोहम्मद खालिद र प्रकाश पन्थले संशोधनहरु दर्ता गराएका थिए ।

संशोधनकर्ताहरु खिमलाल देवकोटा, जितेन्द्रनारायण देवले भने अन्तिममा आएर आफ्नो संशोधनहरु फिर्ता लिएका थिए भने बाँकी संशोधनहरुलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकको अन्त्यमा सभामुख देवराज घिमिरले भोलि नै नेपाल सरकारको तर्फबाट आ.ब २०८०/८१ को लागि राजश्व र व्ययको अनुमान(बजेट) प्रस्तुत हुने कार्यक्रम रहेको सभालाई जानकारी गराउँदै भोलि अपरान्ह ४ बजे अगाडि नै प्रतिनिधि सभा कक्षमा उपस्थित भइसक्न दुवै सदनका सम्पूर्ण सांसदहरुलाई रुलिङ समेत गरेका थिए । संघीय संसदको अर्को संयुक्त बैठक भोलि जेठ १५ गते अपरान्ह ४ बजेर १५ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !