२४ बैशाख २०८१, सोमबार

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने


मन्त्रिपरिषद बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहरदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि जेठ १५ गते संसदमा प्रस्तुत गर्दै छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे आज राजनीतिक परामर्श गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भारत भ्रमणबारे राजनीतिक परामर्श गर्न आज आइतबार दिउँसो २ बजे पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्व परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएका हुन् ।

सो छलफल लगत्तै प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ः३० बजे कुटनैतिक परामर्श पनि गर्ने उनको सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने औपचारिक कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !