२१ बैशाख २०८१, शुक्रबार

गण्डकी सरकारमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त


दीपक मनाङ्गे

पोखरा । गण्डकी प्रदेश सरकारमा ४ जना नयाँ मन्त्री नियुक्त भएका छन् । गण्डकी सरकारमा दीपक मनाङे भनिने राजीव गुरुङसहित ४ मन्त्री आज नियुक्त भएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट २ जना तथा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का १/१ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट महेन्द्रध्वज जिसी र दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट दीपक मनाङे र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका हुन् । योसँगै गण्डकी प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीको शपथ आज अपरान्ह ४ बजे मन्त्रीको सपथ कार्यक्रम तय गरिएको छ ।

माओवादी केन्द्रले जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाउने भएको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य कुसुम बुढाले आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको बताए ।

सातमध्ये मुख्यमन्त्रीसहित चार मन्त्रालय कांग्रेसले, दुई माओवादी केन्द्रले र एक नेकपा (एकीकृत समाजवादी)ले पाउनेछ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्यविभाजन हेरफेर गरेको थियो ।

नयाँ कार्यविभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामिला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।

कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपक्षी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा अब ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै रहनेछ । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत कायम छन् ।

मन्त्रालयको कार्यविभाजन हेरफेर भइसकेकाले अब सरकारले छिट्टै पूर्णता पाउने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले बताए । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीमात्र रहेका छन् । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले सातवटै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !