२१ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त


सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट ३५ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता पाण्डेले आजै नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । पाण्डेलाई भोलि शुक्रबार मात्र शपथ गराउने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

पाण्डेलाई नेपाली कांग्रेस २७, माओवादी ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङ १ जना संसदको समर्थन रहेको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार गठन गर्न ३ दिनको समयसीमा दिएर आज वैशाख १४ गते बिहीबार ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन बहुमतको ३१ जना आवश्यक पर्दथ्यो । प्रदेशसभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !