१८ बैशाख २०८१, मंगलबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त


डिल्लीबहादुर चौधरी

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी आज नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता चौधरीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आठ दलीय गठबन्धनको तर्फबाट ५३ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता चौधरीले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट गत सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गरेका थिए । कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदले चौधरीलाई संविधान बमोजिम मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएका थिए ।

उनलाई मुख्यमन्त्री नियुक्ति गर्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११ सदस्य छन् । साथै राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार-चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक र एक स्वतन्त्र सदस्य छन् ।

डिल्लीबहादुर चौधरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !