२२ बैशाख २०८१, शनिबार

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी


उपेन्द्र यादव

वीरगञ्ज । बारा क्षेत्र नम्बर २ मा जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणना अनुसार निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विजयी उम्मेदवार यादवले २८ हजार ४१५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले २ हजार ८२९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले ११९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाए ।

बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।

बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित भएका जसपा अध्यक्ष यादवलाई गएराति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !