१९ बैशाख २०८१, बुधबार

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरी पदमुक्त


लीला गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । लुम्बिनी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी स्वतः पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री गिरीले आज सोमबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै विपक्षमा धेरै मत परेको थियो । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्री गिरीलाई ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दथ्यो । मुख्यमन्त्रीले गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको थियो ।

तर मुख्यमन्त्री गिरीको सरकारलाई एमालेका २९ र राप्रपाका ४ जना सांसद गरी ३३ जनाको मात्रै समर्थन गरेकोले लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको हो । उनी ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्ता गठबन्धनका दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । यद्यपि एमालेले भने विश्वासको मत नपाएर पनि ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका अन्य दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिएका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए ।

यसअघि बैशाख ९ गते शनिबार गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले पनि प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेर एमाले नेतृत्वको सरकार ढलेको थियो । गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका थिए ।

यो पनि पढ्नुहोस्

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !