२२ बैशाख २०८१, शनिबार

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त


खगराज अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले आज शनिबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै विपक्षमा धेरै मत परेको थियो । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव सभामा बहुमतले अस्वीकृत भएको हो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा उनले गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो । प्रदेशसभामा माओवादीका ८ जना सभा सदस्यमध्ये एक सभामुख रहेका छन् ।

प्रस्तावका पक्षमा नेकपा (एमाले) का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जनाले मतदान गरेका थिए । विपक्षमा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का ७ र स्वतन्त्र १ जना गरी ३५ मत गरेको थियो ।

प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दथ्यो । नेकपा एमालेबाट गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएसँगै गण्डकीमा अब अर्को सरकार बन्ने छ । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !