१० जेष्ठ २०८१, बिहिबार

काँग्रेसको शेखर समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने निश्चित


डा. शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने निश्चित भएको छ । काँग्रेसको उक्त समूहको आज बिहान कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।

काँग्रेसको सो समूहले तीनजना मन्त्री र एक जना राज्यमन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । यद्यपि मन्त्रिपरिषद्को विस्तार भने निर्वाचनपछि मात्रै हुने भएको छ ।

कोइरालाले उपनिर्वाचनअघि सरकार विस्तारमा जोड दिन नहुने प्रष्ट पार्दै उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुनुपर्ने बताएका थिए । सो समूहबाट धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीन जनाको प्रवल सम्भावना रहेको छ ।

काँग्रेसको सो समूहले आफ्नो भागमा परेको एक राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा भने आज निर्णय गरेन । त्यस्तै कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग अहिले छलफल गरेका छन् ।

संस्थापन समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ । त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको छ । काँग्रेसमा संस्थापन देउवा र संस्थापनइतर कोइराला समूहमा विवाद उत्पन्न हुँदा बाँकी मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !