१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा प्रशासनिक र वित्तीय संघीयता आउन सकेन : मुख्यमन्त्री शर्मा


राजकुमार शर्मा

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताएका छन् ।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको प्रथम अधिवेशन उद्घाटनमा मुख्यमन्त्री शर्माले मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय र प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जान नसकेको बताए । उनले कर्मचारी, बैंक र वित्तीय संस्थामा आज पनि केन्द्रिकृत मानसिकता लाद्ने काम भइरहेको जनाए ।

मुख्यमन्त्री शर्माले भने, “कर्मचारीले आफ्नो सेवा सुविधा लिएर प्राप्त जिम्मेवारीअनुसार जनतालाई दिने सेवा गुणस्तरीय, पारदर्शी, चुस्त प्रभावकारी हुनुपर्दछ । सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि सङ्घ/सङ्गठनलाई परिचालन गर्नु अहिलेको आवश्यकता पनि हो ।”

आफूलाई जनताको कामदारको रुपमा उभ्याएर कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको जनाउँदै उनले राजनीतिक परिवर्तनबाट व्यवस्थासँगै जनताको अवस्था बदल्न सबै सरोकारवाला र क्षेत्रको त्यतिकै भूमिका रहेको व्यक्त गरे । कर्णालीको माटो सुहाउँदो र जनताको आवश्यकतामा आधारित विधेयक ल्याउने भन्दै मुख्यमन्त्री शर्माले बन्ने नीति र कानुन कर्णालीवासीको अपनत्व हुने स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !