२१ बैशाख २०८१, शुक्रबार

प्रचण्ड प्रधानमन्त्री जस्तो हुन सकेनन्, यति धेरै फुर्सदिलो देखेर छक्क छु : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री जस्तो हुन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्रीलाई अहिले गठबन्धनको नेताका रुपमा बैठक बस्ने समय छोट्याउन पनि आग्रह गर्दै माओवादीको अध्यक्ष छु भन्ने पनि बिर्सेर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको समेत बताए । जनता निराश भएर आत्तिएका बेलामा प्रधानमन्त्री त प्रधानमन्त्री जस्ता हुनुपर्ने भन्दै चुनावपछि बनेको नयाँ सरकारले पनि जनतामा उत्साहित बनाउने नसकेको बताए ।

थापाले प्रचण्ड नेतृत्वको सरकारको आलोचना गर्दै प्रधानमन्त्री प्रचण्डलाई निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गरेका हुन् । थापाले प्रधानमन्त्री प्रचण्ड निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको बताउँदै यस्तो गरेर मात्र शासकीय सुधार नहुने स्पष्ट पारे ।

अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे । उनले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने तर प्रधानमन्त्रीसँग राम्रा समूह नभएको भनेर आलोचना गर्दै प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएकोजस्तो रहेको पनि बताए ।

सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ । साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए ।

साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उनले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !