२६ बैशाख २०८१, बुधबार

आकस्मिक समयमा सदन तथा सरकारको ध्यानाकर्षण


संसद विश्वासको मत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच सेवालाई सुदृढ गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले माग गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले विमानस्थलमा देखिएको वेथिति र लापरबाहीका कारण एक निर्दोष नेपाली अहिले कतारी सेन्टर जेलमा बन्दी जीवन बिताइरहेको बताए ।

गत बैशाखमा बैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागूऔषध राखिदिँदा कतारको विमानस्थलमा पक्राउ परेको बताउँदै सांसद ढकालले ‘उनलाई १० वर्ष कैद र तीन लाख कतारी रियाल जरिवाना तोकिएको बताए । उनले नेपालको एयरपोर्टबाट उक्त लागू ओषध कतार पुग्न सफल हुनुले नेपालको एयरपोर्टको सुरक्षा कस्तो छ भन्ने कुरा प्रष्ट हुने बताए ।

उनीजस्ता निर्दोष नेपाली कतारी जेलमा कति छन् ? र उनीहरुको अवस्था के छ ?’ भनी सभामुख मार्फत गृहमन्त्रीसँग प्रश्न गर्दैै सांसद ढकालले वैदेशिक रोजगारीमा गएका एकजनाको शव नेपाल ल्याउँदा शवको बाकस समेत भन्सारमा फोरिएको बताउँदै विमानस्थलमा बारम्बार हुने यस्ता घटना न्यूनीकरणका लागि सरकारको ध्यान जान जरुरी रहेको औंल्याए ।

आकस्मिक समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक र उपनिर्देशकको मिलेमतोमा क्यान्सर उपचारको लागि उपकरण खरिदका लागि छुट्याइएको रकम तलव भत्तामा खर्च गर्दा क्यान्सर पीडित बिरामीहरु अहिले उपकरणको अभावमा मारमा परिरहेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद सुवालले सिक्टा सिँचाई आयोजनाको परिक्षणमा नै नहर भत्केपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ करोड भ्रष्टाचार भएको भनि मुद्दा दायर गरे पनि विशेष अदालतले आरोपीहरुहरुलाई सफाई दिएकाले अदालतका न्यायाधीशहरु प्रति पनि प्रश्न चिन्ह खडा भएको बताए ।

आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मुलुकमा बैदेशिक ऋण दिन प्रतिदिन बढ्दोक्रममा रहे तापनि बेरोजगारी समस्या यथावतै रहेको तथा देशको आर्थिक स्तरको सुधार पनि नभएको भन्दै सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद शाहीले संघीयता लागू भए देखि संघीयताकै कारण २० खर्ब भन्दा बढि रकम खर्च भइसकेकाले विदेशी ऋण लिएर अब प्रदेश संरचना पाल्न नसकिने स्पष्ट पारे ।

सांसदले बोलिसके पछि नेकपा(माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सांसद शाहीको अभिव्यक्ति प्रति नियमापत्ति गर्दै सांसद शाहीको अभिव्यक्तीलाई रेकर्डबाट हटाउन माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभाका अघिल्ला बैठकहरुमा बैठक शुरु हुने बित्तिकै सांसदहरुले सभामुखसँग समय माग गरी अथवा ढ्यापढ्यापे समयमा बोल्ने प्रचलन भएकोमा प्रतिनिधि सभा नियमावली, २०७९ पारित भए पछि यसलाई आकस्मिक समयमा परिमार्जन गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको सांसदहरुले शुन्य तथा विशेष समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक भोलि चैत्र २४ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !