२० बैशाख २०८१, बिहिबार

चितवन-२ मा रास्वपा सभापति रवि लामिछानेद्वारा उम्मेदवारी दर्ता


रवि लामिछानेद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सभापति लामिछानेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ रहेका छन् ।

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजेदेखि ४ बजेसम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ ।

उक्त क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दिने भएका हुन् ।

चितवन-२ मा उम्मेदवारी दर्ता गरेसँगै तनहुँमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले लामिछानेले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । लामिछाने दिउँसो २ बजे तनहुकाे दमाैलीमा पुगेर तनहुँ-१ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको मनाेनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

गत मंसीर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गरेका थिए ।

चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !