२३ बैशाख २०८१, आइतबार

बारा–२ मा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने


पुरुषोत्तम पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका पौडेललाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पौडेलको नाम उम्मेदवारका रूपमा टुंगो लगाएको हो । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिंदै छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले पौडेलको उम्मेदवारी टुंगो लगाएको हो ।

पौडेल २०५१ सालमा सांसद र दोस्रो संविधानसभा २००७० मा संविधानसभा सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

यसअघि शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपनिर्वाचन हुने तीनै क्षेत्रमा आज उमेदवारको मनोनय हुँदै छ ।

उपनिर्वाचनको उमेदवारी मनोनयका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । यो उपनिर्वाचनमा बारा-२ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

बारा-२ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बारा–२ मा उम्मेदवारी नदिई जसपाका अध्यक्ष यादवलाई सघाउने भएका हुन् ।

जनमत पार्टीले बारा-२ मा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।

गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ का लागि उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !