२२ बैशाख २०८१, शनिबार

बालुवाटारमा गठबन्धनको बैठक जारी, केही मन्त्रीको शपथ आजै हुनसक्ने


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।

यसअघि आज बिहान मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ गठबन्धनमा सहमति गरेर केही मन्त्रीको आजै टुंगो लगाउने तयारी गरेका छन् ।

सरकारलाई समर्थन गर्ने गठबन्धन दलको तर्फबाट आजै केही मन्त्रीहरुको चयन गरेर शपथ गराउने तयारी गरिएको छ । बालुवाटार स्रोतका अनुसार प्रत्येक दलबाट कम्तीमा एक/एक जनालाई मन्त्री बनाउने तयारी गरिएको हो ।

गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्को विस्तार दुई चरणमा हुने देखिएको छ । गठबन्धनका दलहरुले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका हुन् ।

गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) ले उपमहामन्त्री प्रकाश ज्वाला र उपाध्यक्ष बेदुराम भुसाललाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसमक्ष सूची पठाउने तयारी गरेको छ ।

यस्तै नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का पनि उप प्रधानमन्त्रीसहित सरकारमा जाने चर्चा चलेको छ । सत्ता गठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !