२२ बैशाख २०८१, शनिबार

नेकपा एसको निर्णय : प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्रीमा पठाउने


प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सांसद प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्रीमा पठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो बसेको सचिवालयको आकस्मिक बैठकले ज्वालालाई मन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको सचिवालयको आकस्मिक बैठकले उपमहासचिव समेत रहेका ज्वालालाई मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय गरेको हो । ज्वालाले आज बुधबार साँझसम्म मन्त्रीका रुपमा शपथ लिने भएका छन् ।

स्रोतका अनुसार एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । एकीकृत समाजवादीले सरकारमा पठाउने अन्य मन्त्रीबारे भने निर्णय गरिसकेको छैन ।

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । तर प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका ९ दलसँग पहिलो चरणमा मन्त्रिपरिषद्‍ विस्तारका लागि १/१ जनाको नाम मागेका छन् । सम्भव भएसम्म प्रधानमन्त्री प्रचण्डले आजै पहिलो चरणका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !