१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसद्वारा ह्वीप जारी


काँग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वर

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने उनले बताए । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका छन् ।

बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै प्रतिनिधिसभाको आज बस्ने बैठकदेखि नै सत्ता पक्षको लाइनमा बस्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा उनीहरु दुवैलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेको छ । बैठकले क्रिकेटको विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै आगामी दिनको सफलताका लागि कामना गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !