२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


खगराज भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन तयारी गरेका छन् । यसका लागि सुदूरपश्चिम प्रदेश नेपाली तथा कांग्रेस संसदीय दलका बैठक बिहान १० बजे बोलाइएको छ ।

माओवादीको बैठक सुरु हुनु भन्दा अघि काँग्रेस दलको बैठक बस्ने भएको हो । सुदूरपश्चिम माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहसंग सत्ता साझेदारी गर्ने विषयमा लिखित सहमति मागेका छन् ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् । कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । यद्यपि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेकोले आजै सर्वदलीय बैठकसमेत बोलाउन सक्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !