५ जेष्ठ २०८१, शनिबार

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन कायमै, राष्ट्रपतिमा अझै अनिर्णित


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज सोमबार बसेको रास्वपाको पार्टी कार्यालय वसुन्धारामा केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय नगरेको हो ।

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिई नसकेको स्पष्ट पारे ।

सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए । बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल भएको थियो ।

गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा फागुन २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता नलिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !