१४ बैशाख २०८१, शुक्रबार

बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशिल रहेको समेत बताए ।

लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशील कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुने उनको भनाइ छ ।

यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्वोधनको पूर्णपाठ

फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछु। विभिन्न आन्दोलन र संघर्षका क्रममा घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु । निरंकुशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षको मैदानमा खट्नुभएका सम्पूर्ण योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै न्याय, समानता र स्वतन्त्रताका पक्षमा संघर्षशील स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

निरंकुश जहाँनियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको वलिदानीपूर्ण संघर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्षहरू भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र संघर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन्। यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु ।

लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामहरूको उच्चतम् तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा एवं निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुन्छ । लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशील कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु