१५ बैशाख २०८१, शनिबार

देशभर विभिन्न कार्यक्रम गरी ७३औं प्रजातन्त्र दिवस आज मनाईदै


राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ७३औँ प्रजातन्त्र दिवस मनाईदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ ।

यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । प्रजातन्त्र दिवस दिवसका उपलक्ष्यमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष त्यसै दिन राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमासमेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ ।

नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।

फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना र विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । यी सबै परिवर्तनका जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको हो । आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ ।

स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यिनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको केही जोर चलेन्, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ७० वर्ष अघि, विसं २००७ साल फाल्गुन ७ अर्थात् आजकै दिन र त्यसको नाम थियो “प्रजातन्त्र” ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !