२२ बैशाख २०८१, शनिबार

शक्ति राष्ट्रहरु राष्ट्रपति कसलाई बनाउने भनेर मैदानमै उत्रिए : चित्रबहादुर केसी


चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरु राष्ट्रपति कसलाई बनाउने भनेर मैदानमै उत्रिएको दावी गरेका छन् । केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाएका हुन् ।

आज बुधवारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेको भन्दै भारतका कर्मचारी आउँदा उच्च राजनीतिक तहको भेटघाट गर्नु अशोभनीय रहेको समेत बताए ।

शक्ति राष्ट्रहरु प्रत्यक्ष रुपमै राष्ट्रपति कसलाई बनाउन भनेर सक्रिय भएर लागिरहेको दाबी गरेका हुन् । केसीले शक्ति राष्ट्रहरूले यसअघि राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपमा भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन् ।

उनले शक्ति राष्ट्रहरुले यसपटक प्रत्यक्ष रुपमा राष्ट्रपति चुनावमा आफ्नो देशको स्वार्थअनुकुल व्यक्तिलाई राष्ट्रपति बनाउन लागिपरेको बताएका हुन् । उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दख्खल भइरहेको समेत बताए ।

सांसद केसीले नेपालका सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी समेत गरे । उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्व प्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए ।

केसीले नेपालका शीर्ष नेताहरु भारतमा जाँदा भारतीय शासकहरुलाई भेट्नै नसक्ने तर भारतका कर्मचारीले नेपालका राष्ट्र प्रमुखसँग सजिलै भेट्ने गरेको बताए । केसीले नेपालको राष्ट्रपति चुनावलाई लक्षित गरी विदेशीहरुको भ्रमण भइरहेको पनि जिकिर गरे ।

उनले भूगोलको हिसाबले राष्ट्र सानो, ठुलो भए पनि सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो नहुने उनले बताए । सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरूबाट नै रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !