धनगढी । नवनियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको शपथग्रहण भोलि हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री शाहको भोलि शुक्रबार पद तथा गोपनीयताको शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आज साँझ सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख जोशीले प्रदेशसभामा सबैभन्दा ठूलो दल काँग्रेसको संसदीय दलको नेता शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसंगै कांग्रेसका शाह मुख्यमन्त्री बनेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा एमालेको सरकार ढलेको हो । विश्वासको मत लिने समयसीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टी प्रदेशसभाको बैठकमा उपस्थिति नै भएको थिएन ।
सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री राजेन्द्र रावल स्वतः पदमुक्त भएका थिए । रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेपछि उनी पदमुक्त भएपछि उनले राजीनामा दिएका थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र) का ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ जना सांसद रहेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।
यो पनि पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दावी पेश
स्वत: पदमुक्त भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्दै
सुदूरपश्चिममा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री रावल पदमुक्त