२६ बैशाख २०८१, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज विश्वासको मत लिँदै


राजेन्द्रसिंह रावल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा रावलले विश्वासको मत लिन लागेका हुन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संवैधानिक व्यवस्था अनुसार माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेकोले आज विश्वासको मत लिन लागेका हुन् । यद्यपि उनले विश्वासको मत पाउने भने निश्चित छैन ।

विश्वासको मत पाउनको लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ । नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।

मुख्यमन्त्री रावलले अहिलेसम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि गठबन्धनकै दल नागरिक उन्मुक्तिले भने विश्वासको मत नदिने भएको हो । आजको प्रदेश सभा बैठकमा नागरिक उन्मुक्तिल सहभागी हुने वा नहुने भन्नेमा पनि निश्चित रहेको छैन ।

५३ सदस्यीय प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमालेका रावलले एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाले उनलाई समर्थन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !