१४ बैशाख २०८१, शुक्रबार

पार्टीको बैठकअघि रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई


प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्दै छ । रास्वापाको बैठक बस्नुअघि गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । सरकारबाट बाहिरिने वा रहने भन्ने विषयमा निर्णय गर्न रास्वपाको बैठक बस्दै छ ।

लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आज एक घण्टा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेको बुझिएको छ ।

यसअघि बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न हिजो साँझसम्म २ दिने अल्टिमेटम आज सकिएपछि रास्वापाको आज पनि संयुक्त बैठक बोलाएको हो ।

रास्वापाले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिंदै आएको थियो । यता गृह मन्त्रालय रास्वापालाई नै दिने वा नदिने भन्ने बारेमा माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटी बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।

प्रधानमन्त्री प्रचण्डले स्वार्थ बाँझिने भन्दै रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन चाहेपनि उक्त पार्टीले यसअघि नै गृह मन्त्रालय आफ्नो पार्टीको बटमलाइन भएको भन्दै कुनै हालतमा गृह मन्त्रालय नछोड्ने नत्र सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिंदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !