१९ बैशाख २०८१, बुधबार

गण्डकीको उपसभामुखमा एमालेकी बीनाकुमारी थापा निर्वाचित


बीनाकुमारी थापा

गण्डकी । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याएका थिए । प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए । कांग्रेसका एक जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहे ।

उपसभामुख थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यले मत दिएका थिए ।

थापाको प्रस्तावकमा एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली र समर्थकमा माओवादी केन्द्रका सुशीला सिम्खडा रहेका थिए । थापा समानुपातिक तर्फ बागलुङबाट निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !