२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिंदै


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिंदै छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

प्रतिनिधिसभाको हिजोको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका छन् ।

गत पुस १० गते आइतबार तेस्रो पटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन गरेका छन् ।

बहुमतको सरकार गठनका लागि १३८ सीट आवश्यक पर्ने भएपनि प्रचण्डलाई एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ जनासहित ३ स्वतन्त्र सांसद गरी १६९ जनाले समर्थन गरेका थिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले हिजो सोमबार साँझ देउवा निवास धुम्बाराहीमा भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !