२१ बैशाख २०८१, शुक्रबार

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, शीर्ष नेताको बैठकमा पेश गरिने


मस्यौदा कार्यदल

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा आज बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदाको अन्तिम रुप तयार पारेको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादी केन्द्रबाट वर्षमान पुन,राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल,राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ रहेका छन् ।

कार्यदलको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको बैठकमा एमालेसँगै माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमतका प्रतिनिधि सहभागी भएका थिए ।

भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको हो । न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा, सेवा प्रवाह चूस्तदुरुस्त, मलका विषयलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

यस्तै धेरै घुँइचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरीकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रम लगायत प्राथमिकतामा राखिएको छ । सुशासन,राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार,समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका एजेन्डालाई सरकारको प्राथमिकताका कार्यक्रममा समेटिएको छ ।

साथै महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि यो सरकारको प्राथमिकतामा परेको छ । नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने,भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल केन्द्रमा राखेर न्यूनतम कार्यक्रम आउन लागेको हो ।

अव कार्यदलको बैठकले अन्तिम रूप दिएको साझा कार्यक्रमको मस्यौदालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पेश गरिने भएको हो । कार्यदलको बैठकले तयार भएको मस्यौदा भोलि शनिबार बस्ने शीर्ष नेताको बैठकमा पेश गरिने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !