१४ बैशाख २०८१, शुक्रबार

संसद भवनमा सात दलीय सत्ता गठबन्धनको बैठक जारी


सत्ता गठबन्धन फाइल फोटो

काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा सात दलीय सत्ता गठबन्धनको बैठक जारी रहेको छ । सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक संसद् भवनमा जारी रहेको हो ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सात दलको बैठक जारी रहेको हो । बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरु सहभागी भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका साथमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता सहभागी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डको आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम अगावै केही मन्त्रीको टुङ्गो लगाउने तयारी छ । सोही तयारीका लागि सरकारमा सहभागी दलको बैठक जारी रहेको हो ।

सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल जारी रहेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थन गरेका थिए ।

आज बिहान मात्रै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । उता एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए ।

संसद भवनमा जारी सात दलीय गठबन्धनको जारी बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे सानो आकारको मन्त्रिमण्डल बनाउने गरी पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु