२२ बैशाख २०८१, शनिबार

रेशमलाई भेट्न पूर्वप्रधानमन्त्रीको लर्को : प्रचण्ड, माधव र बाबुराम पुगे डिल्लीबजार


प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र रेशम चौधरी

काठमाडौँ । आम निर्वाचनपछि नेपालमा थारू समुदायको बाहुल्य रहेको पश्चिम तराईका कैलाली, बर्दिया लगायतका क्षेत्रमा राम्रो पक्कड कायम गरेर जबर्जस्त उदय भएको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकार गठन गर्न निर्णायक बन्नुको साथै संघीय सरकार गठनमा पनि केही हदसम्म निर्णायक बनेको छ ।

सुदूरपश्चिम प्रदेशको तराईमा थारू समुदायको सहानुभूति पाएसँगै टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको उदय भएको हो । फौजदारी अभियोग पुष्टि भएपछि चौधरी डिल्लीबजार सदरखोर कारागारमा रहेका छन् ।

नयाँ सरकार गठनको विषयलाई चौधरीलाई भेट्न सत्ता गठबन्धनका नेताहरुको डिल्लीबजार कारागारमा भिड लाग्न थालेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालका साथै पूर्वप्रधानमन्त्री नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई गरी तीन जना पूर्वप्रधानमन्त्रीले डिल्लीबजार कारागार पुगेर चौधरीलाई भेटेका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष निर्वाचनतर्फ ४ सिट र प्रदेशसभामा ७ सिट जितेपछि उक्त पार्टी संघमा मिलिजुली सरकार र प्रदेश सरकार गठनमा निर्णायक भएको हो । चौधरीकी पत्नी रञ्जिता अध्यक्ष रहेको उक्त पार्टीलाई ल्याएर बहुमत पुर्याउन गठबन्धनका नेताहरुले दौडधुप बढेको हो ।

प्रचण्डले चौधरीलाई सोमबार भेटेका थिए भने नेपाल र भट्टराईले मंगलबार डिल्लीबजार कारागार पुगेर भेटेको बुझिएको छ । उनीहरुले चौधरीलाई भेटेर नयाँ सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् । यसरी रेशमलाई भेट्न तीन पूर्वप्रधानमन्त्री लर्को लागेर डिल्लीबजार सदरखोर कारागारमा पुगेका हुन् ।

यद्यपि नागरिक उन्मुक्ति पार्टीले चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता नलिए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिनेसम्मको चेतावनी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर मुद्दा फिर्ता लिने भन्दै सरकारमा सहभागी हुन गठबन्धनका शीर्ष नेताहरुले चौधरीलाई आग्रह गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !