१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र


माधव नेपाल फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्र काटेको छ । आयोगले अध्यक्ष नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई पत्र काटेको हो ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष नेपाललाई आज स्पष्टीकरण सोधेको हो । रौतहट क्षेत्र नम्वर१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाललाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

अध्यक्ष नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा समाचार सार्वजनिक भएको थियो ।

“बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हेँ” भनी सार्वजनिक अभिव्यक्ति दिएको श्रव्यदृष्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको थियो ।

सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्रसमेत पठाएको छ । सो पत्रमा अध्यक्ष नेपालबाट व्यक्त उक्त आश्वासन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदाफ १ बमोजिम निर्वाचनको शिलशिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनमा कुनै उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा सम्लग्न कर्मचारीलाई कुनै किसिमले प्रभाव पार्न नहुने भएकाले सो ऐनको उपदफा (१) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था भएकाले ऐनको दफा २० को उपदफा (४) मा उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अवगत गराइएको छ । पत्रमा माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनी सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा ३९ बमोजिम आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ ।

यस्तो छ अध्यक्ष नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगले काटेको पत्र

रौतहट प्रहरीलाई आयोगले काटेको पत्र

यो पनि पढ्नुहोस्

‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएकोमा माधव नेपाललाई आयोगको स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !