२४ बैशाख २०८१, सोमबार

नेकपाको महासचिवमा विप्लव पुनः चयन


नेत्रविक्रम चन्द

काठमाडौं । नेकपाको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट विप्लव पुनः महासचिवमा चयन भएका हुन् ।

नवौं महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । नेकपाको महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति चयन गरेको छ ।

उक्त महाधिवेशनमा विप्लवले प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ भने राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरेका थिए । महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !