२१ बैशाख २०८१, शुक्रबार

आचारसंहिता विपरीत चामल बाँड्ने मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


मेटमणी चौधरी चामल वितरण

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले चौधरीलाई निर्वाचन आचारसंसहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

आज आइतबार निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीपीडितका लागि भन्दै चामल वितरण गरेको भन्दै आयोगले प्रश्न सोधेको हो ।

आयोगले मन्त्री चौधरीले चामल वितरण गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ? भनी स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा छको व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

आयोगको स्पष्टीकरणमा भनिएको छ, “तपाईंले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नुभएको छ, छैन ? आयोगको सहमति बेगर चामल वितरण कार्यक्रम गर्नुभएको भए तपाईंको उपस्थितिमा गरेको उक्त कार्यक्रम नेपाल सरकारको वार्षिक कार्यक्रमभित्र कुन बुँदामा समावेश भएको छ ? विपद्का अवस्थामा तत्काल राहत वितरण गर्नै पर्ने अनिवार्यता परेमा नेपाल सरकारको जिल्लामा कायम संरचना जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्न सक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी मन्त्रीकै उपस्थितिमा किन राहत वितरणको नाममा उक्त कार्य गर्नु परेको हो ?”

तर मन्त्री चौधरीले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा आयोगको कुनै पूर्व सहमति लिएका भने थिएनन् ।

यस्तो छ हेर्नुस् आयोगले मन्त्री चौधरीलाई सोधेको स्पष्टीकरण

मन्त्री चौधरीलाई सोधेको स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !