२० बैशाख २०८१, बिहिबार

गच्छदार र जोशी लगायतको उम्मेदवारी खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता


विजयकुमार गच्छदार

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता विजय गच्छदार लगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा आज बिहीबार रिट दर्ता भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ११ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।

अधिवक्ता अनिल आचार्यले बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभाका ११ जना उम्मेदवार र निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई रिट दर्ता गराएका हुन् ।

आचार्यले गच्छदार, पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ क का एमाले उम्मेदवार युद्धविक्रम तामाङ, मनाङका काँग्रेस नेता टेक बहादुर गुरुङ, महोत्तरीकी लक्ष्मी महतो, झापा ५ ख का माओवादी केन्द्रका उम्मेदवार गगन भन्ने रेवतराज पुरी रहेका छन् ।

भ्रष्टाचार, फौजदारी कसुर र नैतिक पतन देखिने कसुरमा मुद्दा खेपिरहेका उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । उनीहरू निष्कलङ्क नरहेको, भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको वा सजाय पाएका व्यक्तिहरू रहेको भन्दै उनीहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।

उनले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरु स्वच्छ छविका नभएको उल्लेख गरेका छन् । उक्त रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ ।

यस्तो छ सर्वोच्च अदालतमा दर्ता भएको रिट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !