२३ बैशाख २०८१, आइतबार

डडेल्धुरामा एमालेद्वारा उम्मेदवारी फिर्ता, कांग्रेस बीपीलाई समर्थन गर्ने


कर्णबहादुर मल्ल र चक्र स्नेही

डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । डडेल्धुरामा एमालेका चक्र प्रसाद रसाइली स्नेहीले उम्मेदवारी फिर्तासंगै नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ललाई समर्थन गर्ने भएको हो ।

डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेशसभा १ मा काँग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्तासँगै अब काँग्रेस बीपीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुने चर्चा चलेको छ । उम्मेदवारी फिर्ता लिएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रधानमन्त्री देउवासँगै प्रतिनिधिसभा सदस्यको लागि कांग्रेस बीपीबाट मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !