२१ बैशाख २०८१, शुक्रबार

पूर्वराष्ट्रपतिको टिप्पणी : राष्ट्रपतिको कदमले संविधानमाथिको खतरा बढ्यो


डा. रामवरण यादव

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश र संविधानमाथि खतरा बढेको टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति डा. यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको टिप्पणी गरेका हुन् ।

जनकपुरस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमीपूजा गर्दै पूर्व राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि तथा नेपालको लोकतन्त्रमा कालो बादल छाएको भनेर निराशा व्यक्त गरेका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन गरेर पहिलोपटक संविधान उलंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लंघन गरेको दाबी गरे । दोस्रोपटक पनि संघीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवको भनाइ छ ।

उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरूको परम्परा र संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेर विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे । उनले प्रतिगमनको अवस्था पुनः दोहोरिनसक्ने भएकाले जनतालाई सचेत रहन आग्रह गरे ।

दुई-दुई पटक संसद विघटनपछि अदालत, पाँच दलीय गठबन्धन, नागरिक समाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्र्याकमा आएको बताउँदै उनले एकपटक फेरि संविधानको उल्लंघन भएकाले सबै नेपाली सजग रहन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !