१४ बैशाख २०८१, शुक्रबार

चोलेन्द्रले भने- राज्यले मलाई नजरबन्दमा राख्यो


चोलेन्द्रशमशेर जबरा फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राज्यले आफूलाई नजरबन्दमा राखेको दावी लगाएका छन् । निलम्बित प्रधानन्यायाधीश जबराको बालुवाटारस्थित सरकारी निवासको गेटमै सरकारले तालाबन्दी गरेर जबरालाई सर्वोच्च जान रोक लगाएपछि उनले यस्तो बताएका हुन् ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफू सर्वोच्च जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेर जबरालाई सुरक्षाकर्मीले बाहिर निस्कन दिएका छैन । यस्तै जबराको निवासमा प्रहरीको संख्या बढाएर निगरानी गरेको छ ।

उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले निवासमा प्रवेश गर्ने र बाहिरिनेलाई पनि सामान्य सोधपुछ गरिरहेको बताइएको छ । सरकारले निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन नेपाल प्रहरीलाई समेत निर्देशन दिएको छ ।

आज बिहान ११ बजे निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने सूचना पाएपछि सरकारले प्रहरी प्रधान कार्यालयलाई आज आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

यस्तै सर्वोच्च अदालत प्रशासनले निलम्बित प्रधानन्यायाधीश जबरा अदालतलाई प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सर्वोच्च प्रशासनले निलम्बनको फुकुवा पत्र नआउन्जेलसम्म प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको हो ।

जबराले भने आफूमाथि लागेको महाभियोग निष्क्रिय भइसकेकाले आजदेखि सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्किने बताएका छन् । जबराले आफूमाथि छानबिन गरिरहेको संसदको कार्यकाल हिजो रातिदेखि सकिएकोले महाअभियोग स्वत: निष्क्रिय भएकाले आफू फर्किन लागेको सर्वोच्च प्रशासनलाई हिजो शनिबार नै जानकारी गराएका थिए ।

सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !