१४ बैशाख २०८१, शुक्रबार

सरकारको प्रहरीलाई निर्देशन : जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिनू


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

आज बिहान ११ बजे निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने सूचना पाएपछि सरकारले प्रहरी प्रधान कार्यालयलाई आज आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

यस्तै सर्वोच्च अदालत प्रशासनले निलम्बित प्रधानन्यायाधीश जबरा अदालतलाई प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सर्वोच्च प्रशासनले निलम्बनको फुकुवा पत्र नआउन्जेलसम्म प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको हो ।

जबराले भने आफूमाथि लागेको महाभियोग निष्क्रिय भइसकेकाले आजदेखि सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्किने बताएका छन् । जबराले आफूमाथि छानबिन गरिरहेको संसदको कार्यकाल हिजो रातिदेखि सकिएकोले महाअभियोग स्वत: निष्क्रिय भएकाले आफू फर्किन लागेको सर्वोच्च प्रशासनलाई हिजो शनिबार नै जानकारी गराएका थिए ।

सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

बाहिर निस्कन प्रतिकूल अवस्था रहेको भन्दै जबरालाई अदालत नजान जानकारी गराइएको एक उच्च प्रहरी अधिकारीले बताए । जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरमा कार्यालय समयअघि नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो समाचार पाएपछि नेपाल बार एसोसिएसनले आज बिहानै आकस्मिक बैठक बोलाए जबरालाई अदालत प्रवेश गर्न नदिने निर्णय गरेको छ। महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन तयार पारिएको प्रतिवेदन हिजो शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइएको थियो ।

समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको छ । जबरा अदालत आउने बताइएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !