२२ बैशाख २०८१, शनिबार

चिनियाँ नेता ली चान्शु फर्किए, सभामुखले गरे बिदाइ


ली चान्शु र अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष एवं चिनियाँ सभामुख ली चान्शु भ्रमण सम्पन्न गरी आज फर्किएका छन् ।

उनलाई सभामुख सापकोटाले आज विहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा हार्दिकतापूर्वक बिदाइ गरे । चिनका उच्चस्तरका नेता अध्यक्ष ली विशेष विमानबाट फिर्ता भएका हुन् । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए ।

चान्शु यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष चान्शुबीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेटवार्ता भएको थियो । त्यसपछि संसद भवनको लोत्से हलमा सभामुख सापकोटा र चान्शुले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए ।

वार्तापछि नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

समझदारी पत्रमा संघीय संसदको नेतृत्व सभामुख सापकोटा र चान्शुले हस्ताक्षर गरेका थिए । भ्रमणको पहिलो दिन सभामुखले चान्शु र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ‘स्टेट डिनर’को आयोजना गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए । परराष्टमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । अध्यक्ष ली नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।

ली चान्शु र अग्निप्रसाद सापकोटा ली चान्शु र अग्निप्रसाद सापकोटा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !