२४ बैशाख २०८१, सोमबार

कारागार विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधिसभाद्वारा स्वीकृत


नागरिकता विधेयक पारित फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव माथि बैठकमा सामान्य छलफल भई छलफलमा उठेका प्रश्नहरुको गृहमन्त्री खाणले जवाफ समेत दिए पछि उक्त संशोधनलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा प्रमाणिकरण भएका ६ वटा विधेयक सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाएका थिए । प्रमाणिकरण भएका विधेयकहरुमा क्रमशः खानेपानी तथा सरसफाई विधेयक, तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका थिए ।

प्रतिनिधि सभाको आजको बैठकको शुरुमा सांसदहरुले समय मागेर तथा शुन्य समयमा बोल्दै समसामयिक बिषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद खगराज अधिकारीले धादिङ जिल्लाको श्री ५ को वायु गुठी, पलान्चोक, म्याग्दी लगायत देशका विभिन्न ठाउँमा थुप्रै गुठी सम्बन्धी अझैसम्म पनि समस्या रहेकाले यसको समाधानको लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

अघिल्लो केपी ओलीको नेतृत्वको सरकारले गुठी विधेयक ल्याउँदा व्यापक विरोध भएको स्मरण गर्दै सांसद अधिकारीले हिजो विरोध गर्नेहरुकै अहिले सरकारले रहेकाले गुठी समस्या समाधानका लागि के काम गरिरहेको छ ? भनी प्रश्न समेत गरेका थिए ।

उनले अघिल्लो सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा रणनैतिक महत्वका सडक आयोजनाहरु अगाडि बढाएकोमा वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेर ती आयोजनाहरुलाई अहिले ठप्प पारेकोे बताए ।

समय मागेर बोल्दै नेकपा(एमाले)कै सांसद डा.सूर्यप्रसाद पाठकले यही भाद्र २४ गते बाग्लुङ नगरपालिका-११ मा सुख्खा पहिरो जाँदा ७ घर परिवार पूणर्रुपले विस्थापित हुन पुगेकोले पीडितहरुलाई तत्काल राहत र पुनस्र्थापना तथा पहिरो नियन्त्रणको लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद पाठकले दोस्रो विश्व युद्धका बेलामा नेपालबाट विभिन्न देशमा पुगेका नेपालीहरु(पीपुल अफ नेपाली ओरिजिन)लाई पनि सरकारले गैर आवासीय नेपाली सरह परिचय पत्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै यसबाट नेपालको कुटनीतिक र आर्थिक क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
उनले ढोरपाटनस्थित उत्तरगंगा जलविद्युत आयोजनाको काम अहिले वन तथा वातावरण मन्त्रालयमा अड्किएको भन्दै तत्काल काम अगाडि बढाउन सरकारसँग माग गरेका थिए ।

समय मागेर बोल्दै सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले संविधान बमोजिम अझै पनि थुप्रै ऐन कानूनहरु बन्न बाँकी रहेको बताए । नेपालको संविधानले नेपालमा बोलिनै सबै मातृभाषाहरु राष्ट्र भाषा हुन भने पनि यो संसदको कार्यकालमा यसका लागि कुनै पहल हुन नसकेको बताउँदै सांसद तमाङले आगामी सदनले भए पनि राष्ट्र भाषा सम्बन्धी कानून निर्माण गर्नु पर्ने भन्दै सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेमकिपाका सांसद प्रेम सुवालले डेंगु रोगका विरामीले गर्दा अहिले अस्पतालहरुमा शैय्या अभाव रहेपनि स्वास्थ्यमन्त्रीको भूमिका प्रभावकारी नदेखिएको भन्दै सभामुख मार्फत स्वास्थ्यमन्त्रीको जवाफ माग गरेका थिए । सांसद सुवालले ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक अर्थ मन्त्रालयमा पुगेको १५ दिन भैसक्दा पनि पुनः शिक्षा मन्त्रालयमा नपठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले नागरिकता विधेयकका सम्बन्धमा जनताको व्यापाक विरोध रहेको औंल्याउँदै सिद्धान्तहीन सत्ता गठबन्धनले देशलाई कहाँ पुर्‍याउँछ ? भन्दै प्रश्न समेत गरेका थिए ।

त्यसैगरी, आजको बैठकको शुन्य समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)की सांसद रेखा शर्माले मुलुकमा शान्ति प्रक्रियाको १६ बर्ष बितिसक्दा पनि सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अझैसम्म विचाराधीन अवस्थामै रहेकाले यसलाई तत्काल अगाडि बढाएर पारित गर्न सबैलाई आग्रह गरेकी थिइन् ।

शुन्य समयमा सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेसका सांसद भरतकुमार साहले लाखौं नेपालीहरु नागरिकता बिहीन अवस्थामा रहेकाले तत्काल नागरिकता विधेयक प्रमाणिकरण गर्न सभामुख मार्फत राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

शुन्य समयमा सांसदहरु रेनुका गुरुङ, बिमला वि.क., भिमसेनदास प्रधान, मनकुमारी जिसी, महेन्द्रकुमारी लिम्बू, महेश बस्नेत, मिना सुब्बा, यज्ञबहादुर बोगटी लगायतले बोलेका थिए । प्रतिनिधि सभाको अर्को बैठक भोलि भाद्र ३० गते दिउँसो १ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !