२० बैशाख २०८१, बिहिबार

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै


विद्यादेवी भण्डारी र ली चान्सु

काठमाडौँ । नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष एवं सभामुख ली चान्सुको आज पनि उच्चस्तरीय भेटघाटको कार्यक्रम रहेको छ । सभामुख लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको हो ।

लीले आज बुधबार १५:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सोल्टीबाट राष्ट्रपति कार्यालय शीतल निवास प्रस्थान गर्नेछन् । दिउँसो १५:५५ राष्ट्रपति कार्यालय पुगेपछि लगभग ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

यस्तै आज राष्ट्रपतिलाई भेट्नुअघि बिहान ली ९:३० बजे सोल्टी होटेलबाट भक्तपुरतर्फ प्रस्थान गर्ने छन् । उनको चिनियाँ प्रतिनिधि मण्डलले २०७२ सालको भूकम्पबाट क्षति भई पुनर्निर्माण भएका भक्तपुर दरबार परिसरका मठमन्दिरहरुको अवलोकन भ्रमण गरेर दुई घण्टापछि ११:३० बजे फर्किएर १२:१५ बजे होटल पुग्नेछन् ।

यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

लीले नेपाल आएकै दिन अस्ति सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु ४ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् । छिमेकी मुलुक चीनको सभामुखस्तरीय नेपाल भ्रमण पहिलो पटक भएको हो ।

अघिल्लो बर्षको चैत्र महिनामा भएको दुई पक्षीय भर्चुअल मिटिङ्गको क्रममा सभामुख सापकोटाले समकक्षी झान्सुलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख झान्सु सभामुख सापकोटाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आएका हुन् ।

सभामुखकै निमन्त्रणामा नेपाल आएका लीले राष्ट्रपतिलाई भेटेपछि आज पनि सापकोटालाई भेट्ने कार्यसूची रहेको छ । झान्सु नेतृत्वको प्रतिनिधिमण्डल आफ्नो चार दिने भ्रमण सकेर भोलि भाद्र ३० गते गते बिहिबार बिहान विशेष विमानबाटै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !