२२ बैशाख २०८१, शनिबार

खुमलटार पुगेर गृहमन्त्री र कानुनमन्त्रीले भेटे प्रचण्डलाई


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) ले भेटेका छन् ।

गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माले आज बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । उनीहरुबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

भेटको अवसरमा आगामी मंसिर ४ गते हुन लागेको निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका हुन् । यस्तै संसदको कार्यकाल अझै कसरी लम्ब्याउने भन्ने विषयमा सत्ता गठबन्धन विभिन्न कानुनी छिद्रको खोजीमा लागि परिरहेको भन्ने जस्ता समाचार पनि सार्वजनिक भएका छन् ।

देउवा सरकार प्रतिनिधिसभाको आयू लम्ब्याएर नागरिकता विधेयक प्रमाणीकरण र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग आसन्न निर्वाचनअघि नै जसरी पनि टुंग्याउन चाहन्छ ।

भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि छलफल बुझिएको छ ।

पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफलमा अझै सहमति हुन सकेको छैन । शीर्ष नेताहरूलाई कार्यदलले प्रतिवेदन बुझाएपनि सिट बाँडफाँडको संख्या टुंगो लाग्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !