२२ बैशाख २०८१, शनिबार

चिनियाँ सभामुख ली झान्सु आज नेपाल भ्रमणमा आउँदै


ली झान्सु फाइल फोटो

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आज सोमबारदेखि नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।

अध्यक्ष झान्शुले आज सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आज सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । आजै साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्ने छन् ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग भोलि शिष्टाचार भेटवार्ता गर्ने छन् । यसैगरी भोलि नै उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनीसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !