१४ बैशाख २०८१, शुक्रबार

मिडिया काउन्सिल विधेयक पठाइयो सम्बन्धित समितिमा


संसद बैठक

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६’लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाइएको हो ।

बैठकमा राष्ट्रिय सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘कारागार विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।

ध्यानाकर्षण प्रस्ताव

प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद डा.भिमबहादुर रावलले ‘माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाविकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र सम्बद्र्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्वको बिषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्रीको ध्यानकर्षण गराएका थिए ।

उक्त ध्यानाकर्षण प्रस्तावको जवाफ दिंदै ऊर्जामन्त्री पम्फा भुसालले देशमा उपलब्ध जलस्रोतलाई आर्थिक, प्राविधि लगायत कारणले स्वदेशी लगानीमा नै निर्माण गर्न नसकिने भएकाले विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आयोजना निर्माणको जिम्मा दिनु परेको बताएकी थिइन् । उनले नेपाल आ.ब.२०७४/७५ साल देखि नै लोडसेडिङ मुक्त भइसकेको बताउँदै नेपालले १० बर्षमा १५ हजार मेघावाट विजुली उत्पादनको लक्ष्य लिएको भए तापनि अबको पाँच बर्षमा त्यो लक्ष्य पुरा हुन कठिन रहेको बताइन् ।

ऊर्जामन्त्री भुसालले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई पारदर्शी तरिकाले नै जिएमआर कम्पनीलाई जिम्मा दिइएको बताउँदै समयमा नै आयोजना पुरा नहुँदा पनि पुरानो पक्रियालाई खारेज गरी नयाँ आयोजना निर्माणको प्रक्रिया अगाडि बढाउँदा ढिलो हुने भएकाले नै सोही कम्पनीलाई निरन्तरता दिइएको दावी गरेकी थिइन् ।

सदन तथा सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको आजको बैठकको शुरुमा समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक बिशाल भट्टराईले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भई काम चलाउ सरकारको रुपमा परिणत भईसकेको सरकारको आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी राजनीतक आस्थाका आधारमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका थिए ।

सरकारले निर्वाचनको मिति घोषणा भईसके पछि पनि सदनमा विभिन्न विधेयक ल्याएर बहुमतको बलमा पास गराउने काम गरिरहेको भन्दै सचेतक भट्टराईले स्थानीय तहको निर्वाचनको बेलामा पनि प्रतिपक्षी दललाई जिल्ला जिल्लामा दमन गरिएको बताए ।

प्रमुख सचेतक भट्टराईले हास्य कलाकार अपूर्व शितिज सिंहलाई अनावश्यकरुपमा सरकराले थुनामा राखेको भन्दै उनको तत्काल रिहाईको माग समेत गरेका थिए ।

समय मागेर बोल्दै नेकपा(एकीकृत समाजवादी)की सांसद समिना हुसेनले कित्ताकाट रोकिएकाले मधेशी र किसानहरुले जग्गा बेचेरै भए पनि आफ्नो छोराछोरीलाई पढाउने ईच्छा पुरा हुन नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले दुबई, साउदी र कतार जानबाट महिलालाई रोकेर सरकारले महिलामाथि विभेद गरेको भन्दै महिलालाई वैदेशिक रोजगारीमा जानबाट बञ्चित नगर्न सरकारसँग माग गरिन् ।

सांसद हुसेनले साधु लगायतको भेषमा अहिले गाउँगाउँमा अपरिचित व्यक्तिहरु प्रवेश गरी नसालु पदार्थ खुवाई बालबालिका चोरेर लाने र उनीहरुको अंगहरु निकाल्ने गिरोहहरु सक्रिय भइरहेको भन्दै सभामुख मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी थिइन् । उनले हिजो मात्र गौरमा भिक माग्न आउने एकजना महिलाले बच्चा अपहरण गरेर लानेक्रममा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको घटना पनि सदनलाई जानकारी गराइन् ।

समय मागेर बोल्दै लोसपाका सांसद लक्ष्मणलाल कणर्ले अधिराज्यभर रहेका अतिरिक्त हुलाक कार्यालयहरुमा कार्यरत १० हजार ८ सय ५३ कर्मचारीहरुलाई सरकारले न्यूनतम पारिश्रमिक समेत नदिएर श्रम शोषण गरिरहेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारीहरुको अहिले पनि ७-८ हजार मात्र तलब रहेको र बजेट भाषण मार्फत तलब बढ्दा समेत करारमा रहेकाहरुको मात्र तलब बढ्ने तर स्थानीय नियुक्ती पाएकाहरुको नबढ्ने व्यवस्था हुनु विभेदकारी भएको बताए ।

समय मागेर बोल्दै नेकपा(एमाले)की सांसद बिमला विश्वकर्माले झापाका भूमिहिन, दलित र सुकुम्बासीहरुले अझैसम्म पनि जग्गाधनी पुर्जा पाउन नसकेको भन्दै उनीहरुलाई छिटो धनीपुर्जा दिने व्यवस्थाका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

सांसदहरुले शुन्य समयमा समेत बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए । शुन्य समयमा बोल्दै नेकपा (एमाले) का सांसद नवराज शिलवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको अस्तव्यस्तता र गैर व्यवसायिक गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबि धमिलिएको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले अध्यागमन विभागलाई व्यवसायिक रुपमा संचालन गर्न र गैर कानूनी गतिविधिलाई नियन्त्रण गर्न अध्यागमनको जिम्मा नेपाल प्रहरीलाई दिइयोस् भन्दै यही भाद्र ८ गते देखि ११ गतेसम्म मानव बेचबिखन व्यूरो र सीआईबीले गरेको अनुसन्धानले २७ जना महिलाहरु भिजिट भिसामा वैदेशिक रोजगारीको लागि जान लागेको तथ्य देखिएको र मानव तस्करले नेपाली महिलालाई भिजिट भिसाबाटै विभिन्न मुलुकहरुमा पुर्‍याउने काम गरिरहेकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्ष गराएका थिए ।

शुन्य समयमा नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले अहिले मुलुकका विभिन्न स्थानमा हैजा र डेंगु लगायतका बिरामीहरु बढिरहेको भन्दै यसको प्रभावकारी नियन्त्रणका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उनले अहिले महँगी बढिरहेको भन्दै बजारको अनुगमन गरी मूल्य नियन्त्रण गर्न सरकारसँग माग समेत गरे ।

शुन्य समयमा नेपाली काँग्रेसकी सांसद पार्वता डिसी चौधरीले सांसद रेशम चौधरीको मुद्दा राजनीतिक किसिमको भएकाले उनलाई जेलमा राखिरहन नमिल्ने भन्दै उनको रिहाईको माग गरिन् ।

शुन्य समयमा सांसदहरु तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, देवप्रसाद तिमल्सिना, नरमाया ढकाल, निरादेवी जैरु, पद्मनारायण चौधरी, पार्वती कुमारी विशुन्के, प्रकाश रसाइँली स्नेही लगायतले बोलेका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही भाद्र २५ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !